वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण साक्षर पालिकाका रूपमा घोषणा भएको छ।
शनिबार ठोरी गाउँपालिका–३ शिकारीवासमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले यो महत्वपूर्ण घोषणा गरे ।
नेपाल सरकारले साक्षर पालिका घोषणाका लागि तोकेका १२ सूचकमध्ये ठोरीले ८ वटा सूचक पूरा गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीका अनुसार, आसमान नेपालको सहयोगमा गरिएको सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६७८ जनामध्ये ९८.८६ प्रतिशत (१५ हजार ३२१ जना) साक्षर भेटिएका थिए। सरकारको मापदण्डअनुसार ९५ प्रतिशतभन्दा बढी साक्षरता भएमा पालिकालाई साक्षर घोषणा गर्न सकिन्छ।
यस उपलब्धीसँगै ठोरी गाउँपालिका पर्साका १४ पालिकामध्ये पहिलो र मधेश प्रदेशका १३६ पालिकामध्ये सातौं साक्षर पालिका बन्न सफल भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह सोनार, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उपाध्यक्ष गोकुली कुमारी रेग्मी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।