जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुु¥याउन सक्ने भएको हुनाले त्यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।
प्रदेशका विभिन्न नदीको पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन ।
शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारमा जुट्न तयार रहन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले दुबै निकायका डिआइजीलाई फोन गरेर भनेका छन्, ‘ बाढी बस्तीमा पस्ने खतरा छ, जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ । त्यसकारण मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उद्धारजन्य कार्यका जुट्न पूर्वतयारी गरिहाल्नुहोला ।’
बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिंहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको विवरण पनि मधेश प्रहरी प्रमुखलाई सुनाएका थिए ।
कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री सिंहको आग्रह छ ।
तटबन्ध लगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकट हुन नदिन व्यापक संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको मुख्यमन्त्रीको सिंहलाई प्रदेशका डिआइजीद्वयको ब्रिफिङ छ ।
प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । यो नदीमा २ हजार ८ सयभन्दा माथि क्युसेक पानीको बहाब भएमा खतराचिह्न पार गरेको मानिन्छ ।
प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुइ घाइते भएका छन् ।