Close This

ट्रेन्डिङ

पर्साका कहाँ–कहाँको बाटो भयो बन्द ?

कति परिवार प्रभावित ?

बीरगन्ज । अविरल वर्षाका कारण पर्साका सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले हालसम्म ५ वटा सडकहरु बन्द भएका जनाएको छ । सदरमुकामसंग जोडिने सबै सडकखण्डहरु बन्द अवरोध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुुषालका अनुसार ग्रामिण भेगमा धेरै बाटो अवरुद्ध भएका छन् । सडकमा पानी जमेपछि बाटो बन्द भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । लगातारको पानीले नदी तथा खोलाहरुमा पानीको सतह बढ्दै गएपछि नगरपालिका तथा सदरमुकामसंग जोडिने सडक अवरुद्ध भएका हुन । जसका कारण सवारीसाधन तथा सर्वसाधारणको पूर्णरुपमा आवातजावत बन्द भएको कार्यालयले जानकारी दिएको छ ।

कहाँ–कहाँको बाटो बन्द ? अविरल वर्षका कारण पर्सागढी नगरपालिका वडा नम्बर ९ स्थित तिलावे खोलामा बाढी आउँदा एकटांगाबाट मनवातर्फ आउने बाटो बन्द भएको छ । सडक जलमग्न हुन थालेपछि बाटो बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी जिराभवानी गाउँपालिका वडा नम्बर १ को ओरिया खोलामा जलस्तर बढ्दा महादेवपट्टीबाट सेढवा जाने बाटो बन्द रहेको छ भने पटेर्वासुगौली–४ मा रहेको भलुहीखोलामा पानीको सतह बढेकोले पटेर्वासुगौलीबाट शंकरसरैयातर्फको बाटो बन्द छ ।

त्यसैगरी पटेर्वासुगौलीको वडा नम्बर २ को भलुही खोलामा पानीको सतह बढ्न गइ रंगपुरबाट मनवातर्फ आउने बाटो पनि बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता बीरगन्ज महानगरपालिका वडा नम्बर ३० सर्वोत्तम स्टिल फ्याक्ट्रीदेखि लालपर्सा जाने भित्री बाटोमा पानी जम्दा बाटो अवरुद्ध भएको जनाइएको छ ।

कति परिवार प्रभावित ?

अविरल वर्षाका कारण पर्साबासीको जनजीवन प्रभावित भएको छ ।

बिहिबारदेखिको निरन्तरको वर्षाका कारण बाढी तथा डुुबान पर्दा सर्वसाधारणको जनजीवन प्रभावित भएको हो । नदीमा बाढी आउँदा डुुबानको जोखिम रहेको भएपनि यस जिल्लामा हालसम्म कुनै मानवीय क्षति भने नभएको कार्यालयले जानकारी दिएको छ ।

यद्यपी सर्वसाधारणको घर भत्किने घटनाहरु फाट्फुट्ट भएका छन् । सिडिओ भुुषालका अनुसार पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहा बस्ने बिहारी राउतको घर पूर्ण रुपले भत्किएको छ ।

खपडाले बनेको उनको कच्ची घर निरन्तर परेको पानीले भत्काएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

राउतको घरमा आश्रित ५ जनाको तत्काल उद्दार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै