सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशको सिरहा जिल्लामा एक विशाल निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सिरहाको बरियारपट्टीमा यो शिविर आयोजना गरिएको थियो।
शिविरले मुख्यगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेको थियो। यसमा सशस्त्र प्रहरी बल, नेपाल ए.पी.एफ. अस्पताल काठमाडौँ, छिन्नमस्ता फिल्ड अस्पताल बर्दिवास महोत्तरी, प्रादेशिक अस्पताल लहान र प्रादेशिक अस्पताल सिरहाका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।
सेवाहरूमा नाक, कान, घाँटी, सामान्य चिकित्सा, प्रसूति तथा स्त्री रोग, आँखा परीक्षण तथा उपचार, हाडजोर्नी तथा नशा रोग र दाँतको चेकजाँच लगायतका स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधी वितरण समावेश थियो। कुल ५२२ जना स्थानीय बासिन्दाले यस शिविरबाट स्वास्थ्य सेवा लिएको आयोजकले जानकारी दिएका छन्।
बरियारपट्टी गाउँपालिका वडा नं। ३ को जनता माध्यमिक विद्यालय परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका थिए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकाल, जिल्ला समन्वय समिति सिरहाका प्रमुख, बरियारपट्टी गाउँपालिकाका र औरही गाउँपालिकाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदीले स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग पुर्याउने सबै सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई धन्यवाद दिइन् । उनले समुदायमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
यसै अवसरमा अध्यक्ष सुवेदीले सप्तरीस्थित नेपाल ए.पी.एफ. ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा आयोजित कार्यक्रममा विद्यार्थीहरूका लागि खेलकुद सामग्रीसमेत हस्तान्तरण गरेकी थिइन् ।