ट्रेन्डिङ

आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

वीरगन्ज । राष्ट्रिय धान दिवस २०८२ को अवसर पारेर मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरूलाई शुभकामना व्यक्त गरेका छन्।

उनले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियानको घोषणा गरेका छन्। यस अभियानको मुख्य नारा ‘उत्पादन मधेशमा, विस्तार देशमा’ रहेको छ, जसको लक्ष्य कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिजन्य वस्तुको आयात घटाउनु र निर्यातलाई प्रवर्द्धन गर्नु हो।

मुख्यमन्त्री सिंहले धान उत्पादनलाई सुदृढ बनाउन ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको जानकारी दिए। साथै, माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण, र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। यी कदमहरूले किसानहरूलाई आधुनिक खेती प्रणाली अपनाउन र उनीहरूको उत्पादन क्षमता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न र धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताए। यसका लागि जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमा विशेष जोड दिइनेछ। उनले आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिँचाइ सुविधामा सहज पहुँच पुर्‍याएर किसानहरूको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहने विश्वास दिलाएका छन्।

मुख्यमन्त्री सिंहले राष्ट्रिय धान दिवसले खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस् भन्ने कामना गर्दै सम्पूर्ण किसान दाजुभाइ(दिदीबहिनीप्रति सम्मान प्रकट गरेका छन्।

 

 

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै