वीरगन्ज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज साँझ २१ सदस्यीय उच्चस्तरीय टोलीसहित स्पेन प्रस्थान गर्दैछन्।
यस भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिकालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली कतार एयरवेजको जहाजबाट आज साँझ ६ बजे दोहा हुँदै स्पेनको राजधानी म्याड्रिडका लागि उड्नेछन् र असार १५ गते बिहान म्याड्रिड पुग्ने कार्यक्रम छ। भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै स्पेनस्थित नेपाली राजदूत, न्युयोर्कस्थित आवासीय प्रतिनिधि, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरू, साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार र स्वकीय सचिवालयका सदस्यहरू सहभागी छन्।
असार १५ गते (दोस्रो दिन)मा प्रधानमन्त्री ओलीको टोली दिउँसो करिब ४ बजे स्पेनको सहर सेभिया पुग्नेछ। त्यहाँ उनी नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्नेछन्, जहाँ स्पेनका मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहनेछ। सोही साँझ ५ बजे स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय बैठक तय भएको छ।
दिनको अन्तिम कार्यक्रमका रूपमा स्पेनका नरेशले आयोजना गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा रात्रि भोजमा प्रधानमन्त्रीको सहभागिता रहनेछ।
असार १६ गते प्रधानमन्त्री ओलीको कार्यतालिका निकै व्यस्त रहनेछ। बिहान सम्मेलनको उद्घाटन सत्रमा सहभागी भई उनले गेट्स फाउन्डेसनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गर्नेछन्।
दिउँसो १ बजे इस्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ। त्यसपछि दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उनले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सोही दिनको साँझ प्रधानमन्त्री ओलीले तीन महत्त्वपूर्ण द्विपक्षीय बैठकहरू गर्नेछन् । इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, र संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटरेससँग भेटघाट गर्ने कार्यक्रम छ। तेस्रो दिनको अन्तिम कार्यक्रमका रूपमा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)द्वारा दिइने औपचारिक रात्रि भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।
असार १७ गते (चौथो दिन) प्रधानमन्त्रीले बिहान ८ः३० बजे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै उद्घाटन मन्तव्य दिनेछन्। त्यसपछि बिहान १०ः३० बजे स्पेन सरकारका अध्यक्ष पेद्रो साञ्चेजद्वारा आयोजना गरिने ूवैश्विक ऐक्यवद्धतामा लगानीस् विकास सहयोगको नयाँ दृष्टिकोणू शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्नेछन्।
असार १९ गते छैटौँ र अन्तिम दिन स्वदेश फर्किनुअघि प्रधानमन्त्रीले रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट र सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ। समयले साथ दिए केही महत्त्वपूर्ण स्थानहरू र नेपाली दूतावासको पनि अवलोकन गरिनेछ। भ्रमणको अन्तिम कार्यक्रमका रूपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ।
सोही दिन राति १०ः४५ बजे प्रधानमन्त्रीको टोली दोहाका लागि प्रस्थान गर्नेछ र असार २० गते दिउँसो ४ः४५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका रहेको छ।