जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्।
शनिबार एक विशेष सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विद्यार्थीहरूको यो उपलब्धिलाई उनीहरूको शैक्षिक यात्राको महत्त्वपूर्ण खुड्किलोका रूपमा व्याख्या गरेका छन्।
मुख्यमन्त्री सिंहले विद्यार्थीहरूको परिश्रम, लगनशीलता र निरन्तरताको प्रशंसा गर्दै उनीहरूको यो सफलताले आगामी लक्ष्यहरू प्राप्त गर्ने बाटो खोलेको बताएका छन्। उनले भने, ‘तपाईंहरूको यो सफलताले तपाईंहरूलाई अझ ठूलो सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने मेरो कामना छ।’
मुख्यमन्त्रीको सन्देशमा विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र सकारात्मक सोच का साथ अगाडि बढ्न प्रोत्साहित गरिएको छ। उनले शिक्षालाई समृद्धि र परिवर्तनको मूल आधार भन्दै समाज, प्रदेश र राष्ट्रको समुन्नत भविष्य निर्माणमा विद्यार्थीहरूको योगदानको ठूलो अपेक्षा राखेको बताएका छन्।
मुख्यमन्त्री सिंहले विद्यार्थीहरूलाई राष्ट्रका आधारस्तम्भ को रूपमा चित्रण गर्दै भनेका छन्, ‘एसईईको सफलताले तपाईंहरूको आत्मबल अझ मजबुत बनोस् र आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिहरू हासिल गर्न सकून् भन्ने मेरो शुभेच्छा छ।’