वीरगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पर्सा जिल्लाको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ।
जिल्लाबाट परीक्षा दिएका कुल विद्यार्थीमध्ये ६७.५१ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार नियमिततर्फ जम्मा ३२.४९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।
पर्साबाट नियमिततर्फ १०,०२३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार नियमिततर्फ ३,२५७ जना र प्राविधिकतर्फ ३३ जना मात्र उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थी ‘ननग्रेड’मा परेर अनुत्तीर्ण भएका हुन्। पर्सा जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको एकाइको विश्लेषण छ।
प्रमुख राउतले ४ जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको बताएका छन्। उनका अनुसार पर्सा जिल्लाबाट जम्मा ८ जना विद्यार्थीले मात्रै ४ जीपीए प्राप्त गर्न सफल भएका छन्। यो संख्याले जिल्लाको समग्र शैक्षिक अवस्था चिन्ताजनक रहेको देखाउँछ।
राउतले जिल्लाको नतिजा सन्तोषजनक नरहेकोले यसको गहिरो मूल्यांकन गरिने बताए। यद्यपि, ४ जीपीए ल्याउने विद्यार्थी कुन विद्यालयका हुन् भन्ने जानकारी भने हालसम्म प्राप्त नभएको उनले बताए। यस निराशाजनक नतिजाले पर्साको शैक्षिक क्षेत्रमा थप सुधारको आवश्यकता औंल्याएको छ।