वीरगन्ज । वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिर पुनर्निर्माण भएको १३ औं वर्ष पूरा भएको अवसरमा शुक्रबार भव्य गहवामाई रथयात्रा सम्पन्न भएको छ।
सन् २०८० सालबाट सुरु भएको यो यात्रा यस वर्ष तेस्रो पटक आयोजना गरिएको हो, जसमा नेपाल र भारतबाट गरी एक लाखभन्दा बढी हिन्दू भक्तजनहरू सहभागी भएका थिए। यस भव्य आयोजनले वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानमा महत्त्वपूर्ण टेवा पुर्याएको छ।

शुक्रबार बिहान करिब ८ बजे गहवामाई मन्दिर प्रांगणबाट निकालिएको रथयात्रामा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायत नेपालका विभिन्न जिल्लाहरूका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति थियो। आयोजक गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार, यस वर्ष अनुमान गरिएभन्दा बढी भक्तजनहरूको सहभागिता देखिएको थियो, जसले रथयात्रालाई ऐतिहासिक रूपमा सफल बनाएको छ।
२६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर काठबाट मात्रै बनाइएको रथलाई अघि बढाइएको थियो। घण्टाघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर प्रांगणमा पुगेर रथयात्रा समापन भएको थियो।

विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निस्किएको रथयात्रामा ठाउँ(ठाउँमा स्थानीय श्रद्धालुहरूले पुष्पवृष्टि गरी भव्य स्वागत गरेका थिए।
रथयात्रामा भारतको मध्यप्रदेश प्रान्तका मन्त्री रविकरण साहु, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।