ट्रेन्डिङ

नेशनल मेडिकल कलेजमा नयाँ पीजी विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण

वीरगन्ज । नेशनल मेडिकल कलेजले स्नातकोत्तर (पीजी) अध्ययनका लागि भर्ना भएका ५३ जना नयाँ विद्यार्थीहरूलाई भव्य समारोहकाबीच स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा कलेजका शीर्ष पदाधिकारीहरूले विद्यार्थीहरूलाई चिकित्सा शिक्षाको चुनौतीपूर्ण यात्रामा सफलता प्राप्त गर्न लगनशीलता र बिरामीप्रतिको संवेदनशीलतामा जोड दिन आग्रह गरे।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा अहिले गुणस्तरीय र प्रतिस्पर्धी बन्दै गएको बताए। उनले आफ्नो ५० वर्षअघिको अध्ययन कालको स्मरण गर्दै अहिले चिकित्सा शिक्षामा, विशेषगरी स्नातकोत्तर तहमा, महिला विद्यार्थीहरूको उल्लेख्य वृद्धि हुनु गर्वको विषय भएको बताए।

‘हाम्रो पालामा पोस्ट ग्राजुएट गर्न भारत जानुपर्थ्यो। मुस्किलले १०, १५ जना हुन्थ्यौं,’ प्रा.डा. अन्सारीले भने, ‘सर्जरी र एनेस्थेसियामा महिला त हुँदै हुँदैनथे, धेरै महिला विद्यार्थीहरू रगत देख्नेबित्तिकै डरले बेहोस नै हुन्थे।’ तर, विगत एक दशक यता नेपालमै चिकित्सा शिक्षा सर्वसुलभ हुँदा महिला विद्यार्थीहरूको संख्या बढेको र उनीहरू सर्जरी तथा एनेस्थेसियाजस्ता क्षेत्रमा समेत रातभर अप्रेसन कक्षमा बसेर काम गरिरहेको उनले उल्लेख गरे। उनले भने, ‘नेपालमै चिकित्सा शिक्षा हासिल गर्ने वातावरण नहुँदो हो त धेरै महिलाहरू डाक्टर बन्न सक्नुहुन्नथ्यो।’

प्रा.डा. अन्सारीले पीजी विद्यार्थीहरूले ३ वर्ष गर्ने मेहनत र लगनशीलताले नै उनीहरूको भविष्य निर्धारण गर्ने बताए। उनले विद्यार्थीहरूलाई आफ्नो पेशाप्रति गम्भीर र बिरामीप्रति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दै नेशनल मेडिकल कलेज सदैव अध्ययन-अध्यापनमा सकारात्मक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जनाए।

कलेजकी प्रबन्ध निर्देशक शाहनवाज अंसारीले स्वास्थ्य सेवामा कार्यरत जनशक्तिले मानवीयतालाई प्रमुखता दिनुपर्नेमा जोड दिए । ‘तपाईंहरूले सोच्नुपर्‍यो कि बिरामी नै मेरो किताब हो,’ उनले भने, ‘मानवीयता कहिल्यै बिर्सनु हुँदैन। सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ।’

उनले पछिल्लो समय नेपालको स्वास्थ्य सेवाका विषयहरू कडा बन्दै गएको र कतिपय केसहरू अदालतमा समेत पुगिरहेको सन्दर्भमा बिरामीहरूको उपचारमा कुनै पनि लापरवाही वा हेलचेक्र्याइँ नगर्न सुझाए। रेजिडेन्ट डाक्टरहरूको बिरामीको चेकजाँचदेखि डिस्चार्जसम्म महत्त्वपूर्ण भूमिका रहने भएकाले हरेक कुरालाई गहन रूपमा अध्ययन गर्न उनले आग्रह गरे ।

नेशनल मेडिकल कलेज चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट कलेज रहेको भन्दै प्रबन्ध निर्देशक अंसारीले विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र सिकाइका लागि कलेज व्यवस्थापन सदैव सकारात्मक रहने विश्वास दिलाए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. के एन सिंह, मार्केटिङ तथा एडमिसन निर्देशक आबिद हुसैन अंसारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अंसारी, भाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता, भाइस प्रिन्सिपल बि.डि.एस. प्रो.डा.( सरोज प्रसाद देव, नर्सिङ निर्देशक प्रो. गंगा गुरुङ, भाइस प्रिन्सिपल नर्सिङ प्रो.डा. बबिता सिंह, प्रमुख पीजी संयोजक प्रो.डा. रवि कुमार शाह लगायत पीजी फ्याकल्टीका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कलेजमा अध्ययनरत विद्यार्थीहरू आयुस्मा महतो र ऐश्वर्या बेनेसाले गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै