ट्रेन्डिङ

मधेश प्रदेशको बजेट ‘वितरणमुखी’, ‘व्यक्तिवादी’ र ‘विचौलिया हावी’ : पूर्व मन्त्री सिंह

वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटमाथि विभिन्न कोणबाट आलोचना सुरु भएको छ।

मधेश प्रदेश सभाका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री विरेन्द्र सिंहले सामाजिक सञ्जालमार्फत बजेटलाई ‘वितरणमुखी’, ‘व्यक्तिवादी’ र ‘बिचौलिया हावी’ भएको आरोप लगाएका छन्।

सिंहले आफ्नो पोस्टमा बजेट नितान्त रूपमा केही व्यक्ति र समूहको स्वार्थपूर्तिका लागि ल्याइएको भन्दै यसले समग्र प्रदेशको विकासलाई बेवास्ता गरेको सङ्केत गरेका छन्। उनको यो टिप्पणीले बजेट विनियोजन प्रक्रियामा पारदर्शिताको अभाव र प्रभावशाली समूहको दबाब रहेको भन्ने आरोपलाई थप बल पुर्‍याएको छ।

विरेन्द्र सिंहको यो आरोप यसअघि सरकारमै सहभागी जनमत पार्टीले बजेटमाथि जनाएको गम्भीर असन्तुष्टिसँग मेल खान्छ। जनमत पार्टी संसदीय दलले बिहीबार नै बजेटमा आफ्ना सिफारिस गरिएका योजनाहरू कटौती गरिएको भन्दै आपत्ति जनाएको थियो। जनमत पार्टीले बजेटमा व्यापक फेरबदल भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई दिएको छ।

प्रदेश सरकारमा मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा जनमत पार्टी रहेको भए पनि अर्थ मन्त्रालय नेपाली कांग्रेसका सुनीलकुमार यादवको हातमा छ। यसले गर्दा बजेट निर्माण र विनियोजनमा गठबन्धनभित्रै समन्वयको अभाव र शक्ति सन्तुलनको समस्या देखिएको छ।

यी आरोपहरूले मधेश प्रदेशको बजेटमाथि थप प्रश्न खडा गरेका छन् र आगामी दिनमा यस विषयलाई लिएर प्रदेश सभामा चर्को बहस हुने सम्भावना बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै