वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बजेटमा वीरगन्जलाई अन्याय भएको बताएका छन् ।
आजपाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता साहले वीरगन्जबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बजेटमा वीरगन्जले न्याय नपाएको गुनासो गरे । नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट रंगशाला र वीरगन्जलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने विश्वास भए पनि बजेटमा त्यसको झल्को नदेखिएको भन्दै उनले दुःख व्यक्त गरे ।
‘कांग्रेसकै खेलकुद मन्त्री छ र कांग्रेसले यहाँ हस्ताक्षर अभियानको नाटक गरिरहेको छ,’ उनले व्यङ्ग्य गर्दै भने, ‘एकजना मन्त्रीले वीरगन्जमा आउँदा अर्बौँको बजेट ल्याएको भन्नुहुन्छ, तर जब काठमाडौं पुग्नुहुन्छ, अनि भन्नुहुन्छ वीरगन्जले बजेट नै पाएन। यो नाटक बन्द गर्नुस् तपाईँहरू।’ यसका साथै, साहले मधेशमा विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था नभएको भन्दै सरकारले मधेशको शिक्षा प्रणाली नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।
यसैगरी आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न स्पेन भ्रमणलाई मुलुकका लागि फजुल खर्चु को संज्ञा दिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमण जनताको करको चरम दुरुपयोग भएको उनले आरोप लगाए ।
अध्यक्ष साहले युद्धरत मुलुकमा फसेका नेपाली नागरिकलाई स्वदेश फर्काउन भारतको सहयोग गुहार्नुपर्ने अवस्थामा प्रधानमन्त्री र मन्त्रीहरू लावालस्करसहित विदेश सयरमा निस्कनुको कुनै अर्थ नभएको बताए । प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म तय भएको र अन्य विभिन्न मन्त्रीहरूको विदेश भ्रमणसमेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको सन्दर्भमा साहको यो टिप्पणी आएको हो।
आजपा अध्यक्ष साहले बजेटको चरम दुरुपयोग भएको र जनताको कर नेताको ‘भुँडी भराउने’ काममा प्रयोग भएको टिप्पणी गरे । उनले सरकारपिच्छेको मनोमानी कर आतंकका कारण नेपाली जनता, उद्योगी र व्यापारीको व्यवसाय धराशायी बन्दै गएको दाबी गरे ।
यो सरकार जनताको लागि मात्र नभई कांग्रेस र एमालेकै कार्यकर्ताका लागि पनि बोझ भएको साहको भनाइ छ। ‘स्वार्थहरूको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ,’ उनले भने, ‘यो सरकार कुनैपनि मोर्चामा सफल छैन। न राष्ट्रिय राजनीति संग्लो छ, न विदेश सम्बन्ध सन्तुलित छ। यो सरकारले जताततै भाँडभैलो र उपद्रो मच्चाएको छ।’