जनकपुरधाम । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा पुल निर्माणका लागि मधेश प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
लामो समयदेखि संघीय सरकारको उपेक्षामा परेको यस महत्त्वपूर्ण पुलको निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को रेडबुकमा बजेट समावेश गरेर ऐतिहासिक कदम चालेको हो।
यो बजेट विनियोजनलाई धनुषा र सिरहाका जनताको दैनिक जीवन सहज बनाउने दिशामा प्रदेश सरकारको गम्भीरता र राजनीतिक प्रतिबद्धताको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। यद्यपि, १ करोड रुपैयाँले पुलको सम्पूर्ण लागत धान्न नसक्ने भए तापनि यसलाई कार्य प्रारम्भ गर्ने महत्त्वपूर्ण कदम मानिएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा अघि बढाइएको यो योजनाले प्रदेशभर सकारात्मक चर्चा पाएको छ। मुख्यमन्त्री सिंहले भने, ‘कमला नदीमा नयाँ पुल निर्माण गर्नु धनुषा–सिरहाको मात्रै हैन, सिंगो प्रदेशको आवश्यकता हो। हामी दृढताका साथ यो कार्य अगाडि बढाउँदैछौं।’
कमला नदीमा पुल नहुँदा वर्षायाममा हजारौं स्थानीयलाई आवतजावतमा ठूलो समस्या हुने गरेको थियो। प्रत्येक वर्ष नागरिकले भोग्नुपरेको यो सास्तीलाई मध्यनजर गर्दै प्रदेश सरकारले यो पहल गरेको हो।
मुख्यमन्त्री सिंहले प्रारम्भिक बजेटले काम सुरु गर्न सहज बनाउने र आवश्यकता अनुसार चरणबद्ध रूपमा बजेट थप गरिने जानकारी दिएका छन्। उनले भने, ‘तत्कालको लागि रेडबुकमा एक करोड राखिएको छ। तर काम सुरु भएपछि आवश्यक बजेट थप्दै जानेछौं।’
प्रदेश सरकारको यस कदमलाई स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले खुलेर स्वागत गरेका छन्। उनीहरूले यस पहललाई ‘ऐतिहासिक’ भन्दै संघीय सरकारलाई पनि यसमा चासो दिन आग्रह गरेका छन्। कमला नदीमाथि पुल निर्माण हुनु धनुषा–सिरहा मात्र नभई सम्पूर्ण मधेश प्रदेशका लाखौं नागरिकको साझा आकांक्षा हो, र प्रदेश सरकारको यो पहलले त्यो सपना साकार हुने विश्वास स्थानीयमा पलाएको छ।