ट्रेन्डिङ

सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, आक्रोशित समूहबाट टिपरमा आगजनी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।

दुर्घटनापछि टिपरमा आगजनी समेत गरिएको छ।

बुधबार राति करिब ८ बजेतिर जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

कबिलासी नगरपालिका–८ अगर्वाका २० वर्षीय सचिन साह गुप्ता गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि चिकित्सकहरूले राति ९ बजे मृत घोषणा गरेका थिए।

टिपर चालक फरार भएको र सवारी साधन घटनास्थलमै रहेको जानकारी पाएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले टिपर हटाउन अवरोध गर्दै प्रदर्शन गरे।

प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीडले टिपरमा आगजनी गरेका थिए।

आगलागीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको सर्लाही प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमान्डमा १३ जनाको प्रहरी टोली, साथै नजिकका प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो।

दुर्घटनामा संलग्न टिपरलाई राति सवा २ बजे क्रेनमार्फत तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै