Close This

ट्रेन्डिङ

बाढीले महानगरको अधिकांश बस्तीमा पस्यो पानी, बीरगन्जका ‘बेटा’ बेपत्ता

बीरगन्ज । लगातार परेको पानीले बीरगन्ज महानगरपालिका डुबानमा परेको छ । सिर्सिया नदीमा आएको बाढीले महानगरको करिब आधा दर्जन बस्ती डुबानमा परेको हो ।

सिर्सिया नदीको पानीको सतह बढेपछि त्यसको पानी बस्तीमा पसिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

सिर्सिया नदीको बाढीले खासगरी श्रीपुर, रामगढवा, रानीघाट, छपकैयाँसहित महानगरको नगवा, परवानीपुर भकुवा, आदर्शनगरसहितको बस्तीमा पानी पसेको छ ।

पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीका अनुसार कतिपय बस्तीको घरघरमा नै पानी पसेको छ । उनका अनुसार सिर्सिया नदीको पानी सतह बढेपछि त्यसको एरियाका बस्तीमा पानी पस्दै गएको छ ।

यसको बजार एरियामा पनि पानी जमेको छ । कतिपय ठाउँको नालामा पानी बढेपछि त्यस क्षेत्रका सडकमा पानी जमेको प्रहरीले जानकारी दिएको छ ।

तर त्यसको बाबजुद पनि प्रहरीले उद्धारको कार्य गरिरहेको प्रहरी प्रवक्ता भारती बताउँछन् । बस्तीमा पानी पसेका ठाउँहरुमा प्रहरी परिचालन गरेर उद्धारको कार्य भइरहेको उनको भनाइ छ ।

महानगरमा आएको बाढीले वडा प्रहरी कार्यालय श्रीपुर प्रहरीको पर्खाल भत्काइदिएको छ । भवनको पछाडिको कम्पाउण्डको करिब ५० मिटर पर्खाल भत्केको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । योसंगै जिल्ला प्रशासन कार्यालय पर्साको परिसर पनि डुबानमा परेको प्रहरीले जनाएको छ ।

महानरमा लगातार परेको पानीले धेरै ठाउँ डुबानमा परेपनि बीरगन्ज महानगरपालिकाको कार्यालयले अहिलेसम्म उद्धारका कार्यमा सक्रियता अपनाउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

महानगरमा बाढीले वितण्डा मच्चाइरहँदा मेयर राजेशमान सिंह सामाजिक सञ्जालमा आग्रह र अनुगमनमा मात्र केन्द्रित रहेको स्थानीयको गुनासो छ ।

जनमत पार्टीका राजनीतिक समिति सदस्य शशीकपुर मियाँका अनुसार महानगरको मेयर सिंहको पूरै लापरबाही देखिएको बताए ।

उनले भने, ‘जब मौसम विभागले पहिला नै पर्सालाइ रेड जोनमा रहेको सूचना जारी ग¥यो, त्यही बेला मेयरसाहेबले सबै ढलको सरसफाइ गराउनु पथ्र्यो । तर उहाँलाई कहाँ त्यो सब गराउने फुर्सद छ, त्यति मात्रै होइन अहिले मुर्लीसहित धेरै ठाउँ डुबानमा छ । तर अहिलेसम्म महानगरबाट कुनै गतिविधि भएको देखिदैन । यो भनेको महानगरको बेवास्ता हो ।’

श्रीपुरका एक पीडित भन्छन्, ‘अधिकांश बस्ती तथा सडकमा पानी जमेको छ, तर महानगरको कार्यालयले त्यसबाट बचाउन वा उद्धारका लागि अहिलेसम्म केही गर्न सकेको छैन । सामाजिक सञ्जालमा निर्देशन दिएर मात्र बसिरहेको छ ।’

तर महानगरले भने बाढी पसेका ठाउँहरुमा नगरपालिकाको कार्यालयले गर्न सक्ने सबै काम गरिरहेको प्रतिक्रिया दिएको छ । बीरगन्जका मेयर सिंहको स्वकीय सचिव सत्यराज घिमिरेले महानगरबाट गरिने सबै काम मेयर साहेबबाट भइरहेको बताए ।

उनले भने, ‘प्रशासनले भनेको सबै ठाउँमा सहयोग भइरहेको छ, डुबानमा परेका ठाउँमा पानीको निकास निकाल्ने काम भइरहेको छ । कर्मचारीहरु उद्धारमा खटिएका छन्,मेयरसाहेब आफै फिल्डमा हुनुहुन्छ । जे हुनुपर्ने हो त्यो सब भइरहेको छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै