जनकपुरधाम । प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा बनेको विधेयकमाथि छलफल भएको छ ।
जनकपुरधाममा बुधबार प्राकृतिक स्रोत तथा वातावरण समितिको आयोजना तथा नेपाल मधेश फाउण्डेशनको समयोजनमा भएको छलफल कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्नका लागि बनेको विधेयकमा रहेका केही त्रुटिहरु तत्काल सच्याउन आग्रह गरे ।
प्रमुख सचेतक यादवले व्यापारी तथा व्यवसायीसंग छलफल गरेर ल्याउनु पर्ने विधेयक अन्यत्रको प्रदेशबाट कपीपेस्ट गरेर ल्याएको आरोपसमेत लगाए । उनले मधेश प्रदेशका व्यापारीहरुले चोर बाटो अवलम्बन नगरोस् भन्ने नियत राज्यको पनि हुनुपर्ने र सोही अनुसार व्यापारीहरुसंग लिनुपर्ने जरिवानाप्रति पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
सो क्रममा मधेश प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा बनेको विधेयकमा रहेको त्रुटि तत्काल सच्याउनका लागि व्यवसायीहरुसंग विचारविमर्शका लागि आग्रह गरे । उनले प्रदेश सरकारले ल्याउन लागेको विधेयक मैत्रीपूर्ण हुनुपर्ने र सोका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
प्राकृतिक स्रोत तथा वातावरण समितिको अध्यक्ष शारदा पहाडी दासको अध्यक्षतामा भएको सो अन्तक्र्रिया कार्यक्रममा अधिवक्ता रुकमिणी महर्जनले सहजीकरण गरेका थिए ।
अधिवक्ता महर्जनले व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धना नेपालको संविधान प्रावधान तथा विभिन्न कानुन अड्चनलगायतका विषयवस्तुमाथि प्रकाश पारेकी थिइन् ।
प्रादेशिक व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा बनेको विधेयकमाथि प्रदेशसभा सचिवालयमा प्रमुख सचेतक राम अशिष यादव र प्रदेश सांसद अनिरुद्ध सिंहले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
सो अन्तरक्रिया कार्यक्रममा प्राकृतिक स्रोत तथा वातावरण समितिका सदस्यहरू, संशोधनकर्ता, विज्ञ तथा सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम भएको थियो ।