ट्रेन्डिङ

जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती शंकास्पद अवस्थामा मृत फेला, सुटिङ सेटका डिभाइस प्रहरी नियन्त्रणमा

जनकपुर । जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती अँसा सदा आफ्नै घरमा मृत फेला परेकी छिन्।

विवाह भएको करिब छ महिनामै सोमबार राति उनको शव जनकपुर उपमहानगरपालिका–२०, नोचापुरस्थित निवासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार घटना शंकास्पद देखिएकोले विस्तृत अनुसन्धान सुरु गरिएको छ।

“घटनास्थलको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिन्छ, त्यसैले सुटिङ सेटमा रहेका सबै इलेक्ट्रोनिक डिभाइसहरू नियन्त्रणमा लिईएको छ”, डीएसपी सिंहले जानकारी दिए।

अँसा सदा सोमबार राति कलाकार झाको सुटिङ सेट नजिकै रहेको आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

घटनाबारे जानकारी आएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अहिले नै मृत्युको कारणबारे स्पष्ट भन्न नसकिने प्रहरीले जनाएको छ।

तथापि प्रारम्भिक विवरण अनुसार घटनामा केही अस्वाभाविकता देखिएकोले अनुसन्धानलाई थप गम्भीरता दिइएको छ।

कलाकार झा र सदा बीच अन्तरजातीय विवाह भएको थियो।

केही महिना अघि मात्रै उनीहरूले विधिपूर्वक गृह प्रवेश गरेका थिए।

कलाकार झा ‘कलकतियाबाली’ नामबाट विशेष पहिचान बनाएका छन् र मिथिला क्षेत्रमा लोकप्रिय छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै