दोहा । हाल कतारमा विकसित भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै दोहास्थित नेपाली राजदूतावासले कतारमा रहेका सबै नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जहाँ छन्, त्यहीँ सुरक्षित रूपमा बस्न, शान्तपूर्वक रहन तथा कतार सरकारद्वारा जारी गरिने आधिकारिक सूचना र निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।
दूतावासले थप स्पष्ट पारेको छ कि कतारमा रहेका सबै नेपाली नागरिकको सुरक्षाप्रति आफ्नो निरन्तर ध्यान रहेको छ र कुनै पनि समस्या वा आपतकालीन अवस्थामा नेपाली नागरिकले दूतावासको सम्पर्कमा रहन सक्ने व्यवस्था गरिएको छ।
“नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
कतारमा हाल वायु क्षेत्र बन्द गरिएको तथा केही सुरक्षा चुनौतीहरू देखा परिरहेको सन्दर्भमा जारी गरिएको यो सूचना नेपाली समुदायलाई सजग र सुरक्षित राख्ने उद्देश्यले गरिएको दूतावासले जनाएको छ।