ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री खनालद्वारा अमेरिकी र इजरायली आक्रमणको कडा निन्दा, मध्यपूर्वबाट बाहिरिन आग्रह

वीरगन्ज । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मध्यपूर्वमा अमेरिकी र इजरायली गतिविधिहरूको कडा शब्दमा निन्दा र भत्सर्ना गरेका छन् ।

इरानमाथि भएको हालैको आक्रमणलाई ‘फासिस्ट’ र ‘जङ्गली राजको नमुना’ भन्दै उनले तत्काल अमेरिकी सेना मध्यपूर्वबाट बाहिरिनुपर्ने माग गरेका छन् ।

खनालले २०२५ जुन २१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका तीनवटा आणविक केन्द्रहरूमाथि भएको भनिएको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र देशहरूबीचको सामान्य सम्बन्धको नियमको ठाडो उल्लंघन भनेका छन्। उनले यस कार्यले विश्व शान्ति र विशेषगरी मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उत्पन्न गरेको बताए ।

‘यतिबेला इरानले कुनै आणविक अस्त्र निर्माण गरेको अवस्था थिएन,’ खनालले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक अध्ययन, अनुसन्धान र विकास गर्न कुनै पनि राष्ट्र स्वतन्त्र छ।’ उनले इजरायली विस्तारवादी शासकहरूको ‘युद्ध उन्माद’का बीच अमेरिकी सरकारले गरेको यो आक्रमणले समग्र अरब जगत र इस्लाम जगतकै शान्ति नराम्ररी खलबलिएको दाबी गरे ।

खनालका अनुसार, अमेरिकी बमबारीले शान्ति नभई मध्यपूर्वभरि ुप्रतिरोधका ज्वालाहरू दन्किने सम्भावनाु देखिएको छ। उनले आजको विश्वमा संवाद, सहमति, सहकार्य र विकासको विकल्प नभएकोमा जोड दिँदै अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वमा अशान्ति, युद्ध, आक्रमण र विनाशको मुख्य कारक रहेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण मध्यपूर्वबाट अमेरिकी प्रभुत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना नै त्यस क्षेत्रमा शान्ति स्थापनाको मुख्य कडी भएको बताए। उनले सम्पूर्ण नेपाली जनतालाई अमेरिका र इजरायलका आक्रमणकारी गतिविधिविरुद्ध आवाज उठाउन र इरानी जनता, अरबी जनता र इस्लामिक जनताको प्रतिरोध संघर्षलाई दृढ समर्थन गर्न आग्रह गरे ।

अन्त्यमा, खनालले युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरूको जीवन अस्तव्यस्त हुन सक्ने भन्दै उनीहरूको संरक्षण र उद्धार गर्नका निम्ति तम्तयार रहन नेपाल सरकारलाई जोडदार आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै