वीरगन्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले वर्तमान के.पी. ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
यसका साथै, पार्टीले केन्द्रीय समितिमा पाँच जना नयाँ सदस्यहरूलाई मनोनयन समेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा २०८२ असार ७ र ८ गते केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले यी प्रमुख निर्णयहरू गरेको हो।
जसपा नेपालले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन र आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेको ठहर गरेको छ। यही कारणले गर्दा, पार्टीले संघीय संसदीय दललाई विगतमा सरकारलाई दिइएको समर्थनबारे पुनः विचार गरी आवश्यक निर्णय लिन निर्देश गरेको छ। यो निर्णयले सरकार र जसपाबीचको सम्बन्धमा थप समीक्षा र सम्भावित परिवर्तनको संकेत गरेको छ।
यसैगरी, पार्टी सुदृढीकरणको दिशामा अघि बढ्दै, विभिन्न पार्टी परित्याग गरी हालै जसपा नेपालमा प्रवेश गरी पार्टीमा क्रियाशील रहेका पाँच जना सदस्यहरूलाई पार्टी केन्द्रीय समितिमा मनोनयन गरिएको छ। केन्द्रीय समितिमा मनोनयन हुनेहरूमा पर्साबाट शशि कपुर मियाँ, करिमा बेगम र सुधिर नाथ पांडे तथा रूपन्देहीबाट कैलास गुरुङ र निलम यादव छन् ।
बैठकले आगामी २०८२ भाद्र २५, २६ र २७ गते हुने पार्टी प्रदेश अधिवेशनका लागि ‘जसपा नेपाल, प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका २०८२’लाई सर्वसम्मतिले पारित गरेको छ। साथै, असार २८ गते हुने दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघको राष्ट्रिय भेला एवं अन्तरक्रिया कार्यक्रमका लागि पार्टी उपाध्यक्ष विधुत बज्राचार्यको संयोजकत्वमा एक कार्यदल पनि गठन गरिएको छ।
सप्तरीको राजविराज नगर पालिकामा भएका अप्रिय घटनामा संलग्न पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता माननीय मनिष कुमार सुमनले जानकारी दिए ।