ट्रेन्डिङ

विदेशबाट फर्किए, घरमै गरे अपराध : श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

वीरगन्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जगरनाथपुर गाउँपालिका–४ का २३ वर्षीय सफिराजा मियाँले २१ वर्षीया श्रीमती लालबीबी खातुनको घाँटी थिची हत्या गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शनिबार राति खातुन आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा उनको घाँटी थिचिएको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका मियाँलाई आइतबार नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

पक्राउपछि सोधपुछका क्रममा मियाँको संलग्नतामा शंका लागेपछि उनलाई कर्तव्य गरी हत्या अभियोगमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मियाँ हालै विदेशबाट फर्किएका थिए।

घर फर्किएपछि श्रीमतीले उचित व्यवहार नगरेको, वास्ता नगरेको भन्ने गुनासो उनलाई थियो।

यस्तै आपसी मनमुटाव तथा असन्तुष्टिले हत्या जस्तो जघन्य अपराधसम्म उक्साएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर मियाँमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै