वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने ‘भगौडा दलाल’हरूको पक्षधर भएको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि भएको मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले सरकारको नीति तथा कार्यक्रमले नेपाल लुटेर विदेश लैजाने वर्गलाई प्रोत्साहन गरेको दाबी गरे।
साहले विदेशमा रगत पसिना बगाउने नेपाली श्रमिकहरू ठगिने र ज्यान गुमाउने क्रम बढिरहेको भन्दै सरकारले यसमा संवेदनशीलता नदेखाएकोमा आक्रोश व्यक्त गरे। ‘दिनको तीन÷चार वटा लाश आउँछ। युवाहरूको लाश आउँछ। तिनीहरूको बचाउको लागि के गर्नुभयो ?’ उनले प्रश्न गरे। उनले डिमान्ड स्वीकृति र श्रम स्वीकृति सरकारले नै दिएपछि प्रधानमन्त्रीले ‘हामी मेनपावर व्यवसायी होइनौँ’ भन्नु गैरजिम्मेवारपूर्ण रहेको बताए।
साहले फ्री–भिसा र फ्री–टिकटको नाममा भइरहेको ठगी रोक्न सरकारले कुनै पहल नगरेको, गरिबका छोराछोरीलाई सरकारी जागिरमा बाटो छेकेको र श्रेणीविहीन कर्मचारीको भविष्यमाथि खेलबाड गरेको भन्दै चर्को आलोचना गरे। उनले ‘पिसाब गर्नेले सुविधा पाउने तर सफा गर्नेले नपाउने’ अवस्थालाई ‘अत्याचार’ को संज्ञा दिँदै सरकार कुन वर्गको पक्षधर हो भनी प्रश्न गरे।
बाढीपहिरो पीडितको पुनर्निर्माणमा ढिलाइ, खानेपानीको समस्या र काठमाडौँका सुकुम्बासी बस्तीमा खानेपानी नदिएको विषयमा पनि साहले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।