सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच भएको झडपमा प्रहरी निरीक्षकसहित कम्तीमा १० जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। आज बिहान करिब ८ः३० बजेको समयमा बाटो चौडा गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद बढ्दै झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एस.एल.आर.बाट १ राउन्ड हवाई फायर समेत गरेको इलाका प्रहरी कार्यालय हजरियाले जनाएको छ।
वडा नम्बर ४ का ५० वर्षीय टिका बहादुर कार्कीको टाउको र दाहिने हातको औँलामा चोट लागेको छ। उनको नगर अस्पताल बरहथवामा उपचार भइरहेकोमा अवस्था मध्यम देखिएपछि बिहान ११ः५५ बजे काठमाडौँ रिफर गरिएको छ।
सोही स्थानका ५२ वर्षीय कुल बहादुर कार्कीको टाउकोमा चोट लागेको छ। नगर अस्पताल बरहथवामा उपचार भइरहेकोमा अवस्था मध्यम देखिएपछि उनलाई पनि काठमाडौँ रिफर गरिएको छ। त्यसैगरी वडा नम्बर १४ का ३५ वर्षीय संजय कुशवाहाको टाउकोमा चोट लागेको छ। अचलगढ नगर अस्पताल बलरामा सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।
यसैगरी घाइते हुनेहरुमा ४२ वर्षीय रमेश महतो कोइरी, उनकी श्रीमति इन्दु देवी, प्रदीप कुमार कुशवाहा, अनिल कुशवाहा, (रमेशका छोरा), उमेश महतोको अचलगढ नगर अस्पताल बलरामा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक दिवाकर गणेश, इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत, दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेकोमा नगर अस्पताल बरहथवामा उपचारपछि डिस्चार्ज गरिएको छ। प्रहरी बरिष्ठ हवल्दार परमेश्वर राय यादव, इलाका प्रहरी कार्यालय चपुर दरबन्दी भई बरहथवामा कार्यरत, टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र नगर अस्पताल बरहथवामा उपचार भइरहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा १५ जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली खटिएको थियो। हाल दुवै पक्षलाई सम्झाई बुझाई गरी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
झडपमा संलग्न रहेको आशंकामा ७ जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा राखिएको छ। यसमा लखेन्द्र महतो, शिशिर कार्की, रिता कटुवाल, रञ्जित महतो, सन्तोष कुमार कुशवाहा, अभिषेक महतो र अर्बिद कुमार साह रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।