जनकपुरधाम । असारे विकासले तीव्रता लिएसंगै विभिन्न स्थानीय तहमा मेयर र उपमेयरबीचको विवाद सतहमा आउन थालेको छ ।
धनुषाको हंसपुर नगरपालिकामा मेयर प्रदीप यादवको विरुद्धमा अहिले उपमेयर दुर्गी देवी मण्डल सक्रिय भएपछि दुई खेमामा विभाजित भएका छन् । एक खेमा मेयरतर्फ छन् भने अर्को खेमा उपमेयरसहित कार्यपालिकाका सदस्यहरू खुलेर विरोधमा उत्रेका छन् ।
मेयर यादवले नगरसभा सञ्चालन प्रक्रियामा कानुनी उल्लंघन, प्रशासनिक मनोमानी, योजनागत भ्रष्टाचार र बजेट वितरणमा एकल स्वार्थ अपनाएको आरोप उपमेयर मण्डलले लगाएकी छन् । उपमेयर मण्डलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यादवको पछिल्लो निर्णयहरूलाई अस्वीकार गर्दै संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभा सञ्चालन गर्न चेतावनी दिएको छ ।
बैठकमा सहभागी १२ जना सदस्यहरूले नगर प्रमुखको ‘एकल सत्ता’ शैली नगर सरकारको मूल मर्मविपरीत रहेको ठहर गरेका छन् । आक्रोशित सदस्यहरूले मेयर यादवको सरकारी सवारीसाधनको हावासम्म निकालेका थिए ।
संविधानको धारा २१७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ५३ र नगरसभा कार्यविधिअनुसार बजेट निर्माण तथा नगरसभा सञ्चालनका लागि विभिन्न चरणको तयारी प्रक्रिया आवश्यक हुन्छ । त्यसअनुसार, स्रोत अनुमान, वडागत योजना संकलन, प्राथमिकता निर्धारण, बजेट तर्जुमा र कार्यपालिका बैठकको स्वीकृति प्राप्त गरी मात्र नगरसभामा प्रस्तुति दिनुपर्ने कानुनी प्रावधान छ ।
मेयर यादवले आवश्यक प्रक्रियालाई बेवास्ता गर्दै नगरसभा एकलरूपमा सञ्चालन गर्न खोजेको कार्यपालिका सदस्यहरूले आरोप लगाएका छन् । कार्यपालिका सदस्यहरूले संयुक्त रुपमा नगरपालिकाको बजेट र योजना केही व्यक्तिको सीमित घेरामै सीमित गरिएको आरोप छ । उनीहरूले मेयर यादवमाथि निश्चित ठेकेदारहरूलाई लाभ पुग्ने गरी योजना बनाउने, सार्वजनिक सुनुवाई बेवास्ता गर्ने र प्रतिवेदन प्रक्रिया निष्क्रिय पार्ने आरोप लगाएका छन् ।
‘हामी संविधान र कानुनअनुसार सञ्चालन हुने स्थानीय सरकार चाहन्छौं, मेयरको निजी कम्पनीजस्तो चल्ने नगरपालिका होइन,’ कार्यपालिका सदस्य राजेश पासवानको भनाइ छ । स्थानीयहरुले पनि मेयरको कामप्रति असन्तुष्ट जनाउँदै आएका छन् ।
मेयर यादवका कारण हंसपुर नगरपालिकाको आगामी नीति, कार्यक्रम र बजेट अन्योलमा परेको आरोप लगाइएको छ । तर मेयर यादवले भने सो आरोपलाई अस्वीकार गरेका छन् । उनले उपमेयर र केही कार्यपालिका सदस्यहरु आफूमाथि षड्यन्त्र गरिरहेको आरोप लगाए ।