ट्रेन्डिङ

इजरायल र इरानबाट फर्कन ६०० बढी नेपालीले टिपाए नाम, सरकार उद्धारको तयारीमा

वीरगन्ज । इजरायल र इरानमा विकसित भूराजनीतिक परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपाय अवलम्बन गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन्।

नेपाल फर्कन चाहने नेपालीहरूको उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको उनको भनाइ छ। परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल फर्कन चाहने नेपालीहरूको विवरण लिनका लागि खोलिएको अनलाइन पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले नाम दर्ता गराइसकेका छन् र यो क्रम अझै जारी छ। मन्त्रालयले गत बुधबार नै दोस्रो पटक ट्राभल एड्भाइजरी जारी गर्दै इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको अनावश्यक भ्रमण नगर्न अनुरोध गरेको थियो।

परराष्ट्रमन्त्री डा. राणाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँगको संयुक्त बैठकमा इजरायल र इरानको युद्धका कारण उत्पन्न परिस्थिति र नेपालीको सुरक्षा तथा उद्धारको तयारीबारे छलफल गरेकी थिइन्।

मन्त्री राणाले जीटुजी (सरकार–देखि–सरकार) प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा त्यसका लागि सहजीकरण गर्नु इजरायल सरकारको पनि दायित्व भएको बताइन्। उनले भनिन्, ‘त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ। नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ।’

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै नेपालीहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो। हाल ती मुलुकहरूमा हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको थियो।

हाल इजरायलमा ५ हजार ५०० देखि ७ हजार नेपाली रहेको अनुमान छ, जसमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा छन्। इरानमा भने १८ जना नेपाली रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै