रौतहट । रौतहटका नदीहरूमा पानीको सतह बढ्दै गएपछि सशस्त्र प्रहरीले माइकिङ गरी सचेत गराउन थालेको छ ।
शुक्रवार अविरल वर्षा भएसँगै जिल्लाका नदीहरूको सतह पनि बढ्दै गएको छ ।जिल्लाको पूर्वमा रहेको बागमती चाँदी झाँझ लगायत नदिखोलामा पानीको सतह बढेको हो ।
त्यस्तै पश्चिममा रहेको लालबकैया, धनसार लगायत नदीमा पनि पानीको सतह बढ्दै गएको देखिएको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। अध्यक्ष कुशवाहाका अनुसार कटहरिया ४ र ५ सँगै मौलापुर नगरपालिकाको केही वडामा लालबकैया नदीबाट कटानको जोखिम बढेको छ।
वर्षा अझै केही समय रहने भएकाले बागमती, लालबकैया लगायत नदीमा ठुलो बाढी आउने जोखिम रहेको छ। नदी किनारका बासिन्दाहरू बाढीको जोखिमबाट सचेत रहन आवश्यक रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।