वीरगन्ज । राजधानीको कलंकीस्थित ईडिफाई इन्टरनेशनल स्कुलको प्राङ्गणभित्र भएको एक हृदयविदारक घटनामा विद्यालयकै भ्यान दुर्घटना हुँदा ९ वर्षीया छात्रा सोनाक्षी यादवको ज्यान गएको छ।
सर्लाही घर भई हाल कुलेश्वरमा बस्दै आएकी सोनाक्षी यादवको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। विद्यालयको इभी माइक्रो (स्कुल भ्यान) बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो।
यस दुर्घटनामा विद्यालयका प्रधानाध्यापक ४६ वर्षीय सुरज पोखरेल र चालक ६० वर्षीय हर्कबहादुर कार्कीसहित अन्य छ जना विद्यार्थीहरू घाइते भएका छन्। घाइते विद्यार्थीहरूमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तिमगर रहेका छन्। उनीहरूको बयोधा र नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ।
विद्यालय परिसरभित्रै विद्यार्थीको ज्यान जाने गरी भएको यो घटनाले अभिभावक र सरोकारवालाहरूमा चिन्ता बढाएको छ। विद्यालयले विद्यार्थीहरूको सुरक्षाका लागि अपनाउनुपर्ने मापदण्ड र सवारी साधनको नियमित मर्मतसम्भारको विषयमा प्रश्न उठेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।