ट्रेन्डिङ

बजेट सिध्याउन सुनुवाइको आरोप: कञ्चनरुपकी उपमेयरद्वारा कार्यक्रम बहिष्कार

सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिकाले उपमेयर मुना कुमारी पोखरेललाई पूर्ण रूपमा बेवास्ता गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ।

उपमेयरसँग कुनै सल्लाह, समन्वय वा जानकारीबिना नै सोमबार आयोजना गरिएको यो कार्यक्रमको वैधानिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीयहरूले नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बजेट सिध्याउने नियतले मात्र यो सुनुवाइ आयोजना गरेको आरोप लगाएका छन्।

सार्वजनिक सुनुवाइ कार्यविधि, २०७५ अनुसार यस्ता कार्यक्रमको कम्तीमा सात दिनअगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने कानूनी प्रावधान छ। तर, कञ्चनरुप नगरपालिकाले औपचारिक सूचना पाटी, एफएम, वेबसाइट वा सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण नगरी केवल नगरप्रमुखको व्यक्तिगत फेसबुक पेजमार्फत कार्यक्रम हुनुभन्दा एक दिनअगाडि मात्रै सूचना सार्वजनिक गरेको थियो।

यस्तो अपारदर्शी सूचना प्रवाहकै कारण लगभग ६५ हजार जनसंख्या भएको नगरबाट सार्वजनिक सुनुवाइमा मुस्किलले १४/१५ जना सर्वसाधारणको मात्र उपस्थिति रहेको थियो। यसले कार्यक्रमको व्यवस्थापन र नागरिक सहभागिताप्रति व्यापक असन्तुष्टि बढाएको छ। एक सहभागीले समयमा सूचना नपाउँदा नागरिक सहभागिता हुन नसकेको गुनासो गरे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सञ्चारकर्मीसमेत रहेका मेयर पदका प्रत्यासी भोला पासमानले उपस्थित नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्कालाई जनसरोकार र पालिकाको कामकारबाहीसँग सम्बन्धित प्रश्नहरू तेर्साएर र्‍याखर्‍याख्ती पारेका थिए। पासमानले नगरपालिकामा सुशासन र पारदर्शिताको चरम अभाव रहेको भन्दै पालिकाको कामकारबाहीमाथि गम्भीर प्रश्न उठाए।

सुनुवाइमा उपस्थित थोरै सर्वसाधारणले पनि आक्रोशित हुँदै प्रश्नहरू सोधेका थिए। कार्यक्रममा पालिकाका कर्मचारी र केही जनप्रतिनिधिको मात्रै उपस्थिति रहेको थियो। बिहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम तीन घण्टा ढिला गरी चलेको थियो ।

उपमेयर मुना कुमारी पोखरेलले नगरपालिकाको गतिविधिमा पारदर्शिता र समन्वयको अभाव रहेको भन्दै तीव्र असन्तुष्टि जनाएकी छन्। उनले आफूसँग कुनै सल्लाह वा समन्वय नगरी कार्यक्रम आयोजना गरिएकोले यसमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहेको भन्दै सामाजिक सञ्जालमार्फत कार्यक्रम बहिष्कारको घोषणा गरेकी छन्। उनले कार्यक्रमको ब्यानरमा आफ्नो तस्बिर राख्न नहुने भन्दै तस्बिर हटाउन समेत सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै