जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ।
प्रदेश सभाको बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको यस बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको वित्तीय स्रोतलाई हेर्दा, आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान (७ अर्ब ७२ करोड १९ लाख), सशर्त अनुदान (४ अर्ब २६ करोड १८ लाख), विशेष अनुदान (३९ करोड ४५ लाख) र समपूरक अनुदान (३५ करोड ८२ लाख) लाई पनि बजेटको महत्त्वपूर्ण स्रोतका रूपमा लिइएको छ।
विशेष गरी, यसपटक मधेश प्रदेशले अघिल्लो वर्षको नगद मौज्दातलाई ठूलो आधार बनाएको छ। १० अर्ब ३८ करोड रुपैयाँ नगद मौज्दातबाट जुटाउने लक्ष्य राखिएको छ, जुन बजेटको एक ठूलो हिस्सा हो। साथै, राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ समेत जुटाउने योजना बजेटमा उल्लेख छ।