वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो। भारतबाट दुई वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा साथमा उल्लेखित रकम फेला परेको थियो। प्रहरीका अनुसार, उनीहरूले उक्त रकमको स्रोत खुलाउन सकेनन्।
नियन्त्रणमा लिइएकामध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार राहुल कुमार तिवारीको साथबाट १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार कौशल कुमार गुप्ताको साथबाट ५ लाख नेपाली रुपैयाँ बरामद भएको छ। बरामद रुपैयाँमा एक हजार दरका १ हजार ८२ वटा र पाँच सय दरका १ हजार ४ सय ३६ वटा नोट रहेको सह प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरूले यो रकम कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने खुलेको छैन। पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।