ट्रेन्डिङ

‘मधेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने मनसाय आपत्तिजनक’ : के.सी. लामिछाने

जनकपुरधाम । नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा आयोग संयोजक के.सी. लामिछानेले मधेश प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने मनसाय राखेकोमा गम्भीर आपत्ति जनाएका छन्।

उनले सरकारको यो कदम जनतालाई सेवा दिने मुख्य उद्देश्यबाट विचलित भई ‘आफू मनोरञ्जन गर्न’ र ‘छवि चम्काउन’मा केन्द्रित भएको आरोप लगाएका छन्।

आज नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय जनकपुरमा आयोजित बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘राजनीति जनसेवाका लागि हुनुपर्नेमा यहाँ सरकार आफ्नो नाम फैलाउन, आफ्नो कार्यक्रमको प्रचार गर्न मिडियाहरू खोल्न लागेको अभिव्यक्ति दिनु अत्यन्तै आपत्तिजनक छ।’ उनले यो लोकतन्त्रको भावना विपरीत रहेको र सञ्चारमाध्यम स्वतन्त्र हुनुपर्नेमा सरकारी नियन्त्रणमा जानु गलत भएको स्पष्ट पारे।

संयोजक लामिछानेले जनतालाई सूचित गराउनु मिडियाको मुख्य दायित्व भएको भन्दै, सरकारी लगानीमा खोलिने मिडियाहरू कहिल्यै स्वतन्त्र हुन नसक्ने दाबी गरे। यस्ता मिडियाले जनतालाई एकाङ्गी जानकारी मात्र दिन सक्ने चिन्ता व्यक्त गर्दै उनले नेपाल पत्रकार महासंघ मधेश प्रदेशलाई यसका विरुद्ध आधिकारिक धारणा राख्न र आवश्यक परे आन्दोलन गर्नसमेत सुझाव दिए।

उनले प्रदेश सरकारले प्रदेशका मिडिया धराशायी भइरहेका बेला केन्द्रको सरकारी मिडियाका लागि करोडौँ रुपैयाँ विनियोजन गर्नु सङ्घीयतामाथिकै उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

यसैगरी, मधेशका ५ जना पत्रकार अख्तियारको फन्दामा पर्नुले सबै सञ्चारकर्मीलाई आफ्नो कर्ममा सजग र जिम्मेवार बन्नुपर्ने सन्देश दिएको पनि लामिछानेले बताए। उनले समयमै लेखापरीक्षण गरेर वित्तीय पारदर्शिता कायम गर्नसमेत सुझाव दिए।

बैठकमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले आफूहरूको पहलमा पत्रकारका लागि जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा, एआई तालिम र प्रत्येक जिल्ला शाखालाई १०÷१० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए। उनले हालको सरकारको सहयोगमा प्रादेशिक कार्यालय स्थापना हुनेमा पूर्ण विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै