ट्रेन्डिङ

मोटरसाइकलको एक क्षणको लापरवाही, दुई परिवारमा शोक

वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा आज बिहान भएको सवारी दुर्घटनामा दुइजना युवाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ५ बजेतिर बिग्रिएर सडक छेउमै रोकी राखिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ५५ के ३९७१) मा बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको हो।

सिरसिया ड्राइपोर्टतर्फ जाँदै गरेको मोटरसाइकलको गति तेज रहेको र अगाडि ट्रक रहेको थाहा नपाई सीधै ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीन जना मध्ये पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र विजय यादवको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

सोही स्थानका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमै ट्रक र मोटरसाइकल रहेका भए पनि ट्रकका चालक फरार रहेका छन्।

उनको खोजी भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सवारी साधन चलाउँदा देखिने लापरवाही र ट्राफिक नियमको अवहेलनाले दिनहुँजसो ज्यान गुमाउने दुर्घटनाहरू बढिरहेका छन्। यस घटनाले पनि सजगता र सावधानी नअपनाउँदा कस्तो पीडादायी परिणाम आउन सक्छ भन्ने कुरालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै