सर्लाही । सर्लाहीमा शुक्रबार दिउँसो टिपरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको हरिवन नगरपालिकामा टिपरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हरिवन वडा नम्बर ७ निवासी ४२ वर्षका दीपक अधिकारी रहेका प्रहरीले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ११ बासाटोलस्थित चिनीमिल अगाडि प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकलमा सवार अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ ।
मृतकको परिवारसँग समन्वय गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलको अवस्था सामान्य रहेको र राजमार्ग सूचारु रहेको हरिवन प्रहरीले जनाएको छ ।