वीरगन्ज । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सुन, चाँदी र हिरा पत्थरका गरगहनामा २ प्रतिशत विलासिता कर लगाएपछि त्यसको विरोधमा वीरगन्जका सुनचाँदी व्यवसायीहरूले कडा आन्दोलन सुरु गरेका छन्।
आन्दोलनको क्रममा आज उनीहरूले आफ्ना सम्पूर्ण पसलहरू बन्द गरी व्यवसायिक तालचाबी जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीलाई साँचो हस्तान्तरण गर्दै व्यवसायीहरूले नयाँ कर नीति तत्काल फिर्ता लिन जोडदार माग गरेका छन्।

व्यवसायीहरूका अनुसार, सरकारले ल्याएको यो २ प्रतिशत विलासिता कर ‘बहु कर प्रणाली’ (राउन्ड ट्रिप) को रूपमा आएको छ, जसले ग्राहकलाई प्रत्यक्ष २ प्रतिशत मात्रै नदेखाइए पनि व्यवहारमा कम्तीमा ६ प्रतिशतसम्म थप मूल्यको भार पर्नेछ। पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनारले २ लाख रुपैयाँको सुन खरिदमा ग्राहकले १२ हजार रुपैयाँसम्म बढी तिर्नुपर्ने अवस्था आउने बताए।
विश्व बजारमा सुनको मूल्य बढेर कारोबार सुस्ताएको बेला थप करको बोझले व्यवसायलाई महामन्दीतर्फ धकेल्ने निश्चित रहेको व्यवसायीहरूको भनाइ छ। यसले सुन महँगो भई बिक्रीमा गिरावट आउने र हजारौंको रोजगारी गुम्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनार र पर्सा सुनचाँदी कालीगढ संघका अध्यक्ष राजु साह सोनारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारसमक्ष विभिन्न सात बुँदे मागहरू राखिएका छन्। प्रमुख मागहरूमा सबै प्रकारका सुन तथा गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने उल्लेख छ।