ट्रेन्डिङ

रौतहटमा सवारी दुर्घटना : आक्रोशित स्थानीयद्वारा करिब ७ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएपछि करिब सात घण्टासम्म सडक अवरुद्ध भएको छ।

स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गर्दै बिहान ६ बजेदेखि अवरोध सिर्जना गरेका थिए, जसका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो।

मृत्यु हुनेमा चन्द्रनिगाहपुर–१ मंगलपुर निवासी ४५ वर्षीय बुढा लिम्बू रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लिम्बूको पौराहीमा सवारीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। यद्यपि, ठक्कर दिने सवारीसाधन र त्यसका चालकको विवरण भने खुल्न सकेको छैन।

लिम्बूको मृत्युपछि आक्रोशित स्थानीयबासीले न्यायको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। बिहान ५ बजे दुर्घटना भएकोमा ६ बजेदेखि सडक अवरुद्ध हुन पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले घटनास्थलमा पुगी दोषी चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयबासीले सडक अवरोध हटाएका थिए। त्यसपछि मध्याह्न १२ः४५ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै