वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा आकस्मिक अनुगमन गरेका छन् ।
राष्ट्रिय परिचय पत्र बनाउन त्यहाँ पुगेका सेवाग्राहीले भोग्नुपरेको सास्ती र कार्यालयको बेथिति हेरेर मेयर सिंह आक्रोशित भएका थिए । उनले कर्मचारी र दलालको मिलेमतोमा सेवाग्राहीलाई अनावश्यक दुःख दिइएको भन्दै गम्भीर आक्रोश व्यक्त गरेका छन्।
प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन बिहान १० बजेदेखि नै लाइनमा बस्ने सेवाग्राहीको काम नभएको तर, दलालमार्फत पैसा दिएर आउने व्यक्तिहरू भने भित्रै पसेर सजिलै काम गराइरहेको सेवाग्राहीहरूको गुनासो बढेपछि मेयर सिंह स्वयं अनुगमनमा पुगेका थिए।
‘नागरिकता हुँदाहुँदै पनि राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई चरम ढिलासुस्ती गरिएको छ,’ मेयर सिंहले अनुगमनका क्रममा आक्रोशित हुँदै भने, ‘यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र प्रशासन कार्यालयका कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई दुःख दिने काम भइरहेको बुझ्न सकिन्छ।’
अनुगमनका क्रममा उपस्थित एक सेवाग्राहीले खुलेरै गुनासो पोखे, यहाँ काम गराइदिने भन्दै दलालहरूले खुल्लमखुल्ला रकम माग्ने गरेका छन्।’ प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ठूलो भीड लाग्ने गर्दछ। यसै भीडको फाइदा उठाउँदै दलालहरूले सेवाग्राहीलाई ‘रूपैयाँ दिए काम छिटो गराइदिने’ भन्दै लोभ देखाउने गरेको पाइएको छ।
यस्तो बेथिति देखेर मेयर सिंहले आक्रोशित हुँदै सेवाग्राहीलाई दुःख दिने कर्मचारीहरूलाई सम्बन्धित फाँटबाट तत्कालै हटाउन निर्देशन दिएका छन्।