वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका-१, पिडरिगुठ्ठीमा आज दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय मोजामिल राय भगत र उनका कान्छा भाइ हाफिज राय भगतको फुसको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दिउँसो करिब २:४० बजे विद्युतीय तार सर्ट भई आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिडरिगुठ्ठीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र प्रसाद यादवको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयको सहयोगमा आगलागी करिब १५:१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको छ भने, घरभित्र रहेको धान, गहुँ, काठको पलंग, पंखा र लत्ताकपडा जलेर नष्ट भएका छन्। यस घटनाबाट अनुमानित एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।