वीरगन्ज । अवैध रुपमा हुण्डीमार्फत पैसा ओसारपसार गरिरहेको आरोपमा पर्सा प्रहरीले वीरगन्जबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका अन्तर्गत परवानीपुर क्षेत्रबाट विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई ठूलो मात्रामा नगद रकमसहित पक्राउ गरिएको हो।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ नगद बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा यो रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको खुलेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
सोधपुछ जारी रहेकाले उनीहरूको नाम हाललाई गोप्य राखिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ।