जनकपुरधाम । प्रधानमन्त्री के.पी. ओलीले मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यास गरेका छन् । मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत उनले सडकको एकैपटक शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेशको भूमि अब विकासको गतिमा अगाडि बढेको धारणा राखे । उनले सडक निर्माणपश्चात यसले मधेशको विकासको ढोका खुल्ने विश्वास जनाए ।
यस्तै प्रधानमन्त्री ओलीले चुरेको संरक्षण गरिएमा मात्र मधेशको संरक्षण हुनेमा जोड दिए । उनले मधेशको संरक्षण र पानीको आवश्यकता परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले मधेश पछाडि पर्नुपर्ने प्रदेश नभएको भन्दै केही कारणले पछाडि परेको भए पनि अब मधेश द्रुत गतिमा अगाडि बढ्ने दाबी गरे । उनले शिक्षाको गुणात्मक विकासका लागि पनि गम्भीरतापूर्वक ध्यान दिन आवश्यक रहेको बताए ।
हुम्ला जुम्लाभन्दा पछाडि रहेको मधेशलाई अगाडि लैजानु जरुरी रहेको उल्लेख गर्दै उनले मधेश ज्ञानको भूमि र गौरवपूर्ण ऐतिहासिकता बोकेको प्रदेश भएको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले मधेशको सर्वदलीय राजनीतिक निर्णयको प्रशंसा गरे । उनले आफूले पहिले शिलान्यास गरेका कतिपय कार्यक्रमहरू अलपत्र परेको जानकारीमा रहेको बताउँदै ती योजनाहरूको कार्यान्वयनमा अब विशेष ध्यान दिने बताए । ६४ प्रदेश सभा छुने सडकको निर्माणले मधेशको समृद्धिको बाटो खुल्ने उनको विश्वास छ ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिश कुमार सिंह, प्रथम मुख्यमन्त्री लालबाबु राउत, संघीय मन्त्री, प्रदेश मन्त्री, सांसदहरू, प्रदेश सभा सदस्यहरु, राजनीतिकर्मी लगायतको सहभागीता थियो ।