Close This

ट्रेन्डिङ

पर्सा जलमग्न, अवस्था भयावह बन्ने खतरा, सिडिओले भने–घर बाहिर ननिस्किनुहोला

बीरगन्ज । बिहीबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण पर्सा जलमग्न बनेको छ । बीरगन्ज लगायतका पर्साका सबै पालिकाहरुमा गएरातिदेखि हावाहुरीसहित पानी परिरहेको छ ।

निरन्तरको वर्षातका कारण पर्सा जिल्लाका मुख्य तथा भित्री सडक जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

वर्षाका आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । निरन्तरको वर्षाले विशेष गरी पूराना भवन तथा सरकारी कार्यालयहरुमा भने पानी पसेको छ ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा बस्तीहरु नै डुवानमा परेका छन् । बीरगन्जका आदर्शनगर, बसपार्क, माइस्थान, श्रीपुर, पानी ट्याङकी, भिस्वा, रानीघाटसहितका ठाउँहरु जलमग्न भएका छन् ।

प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको स्थानीयको गुनासो छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्दो छ ।

यद्यपी, जिल्लाका कुनै पनि स्थानमा अहिलेसम्म डुबानको चपेटामा नपरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कुनै मानवीय क्षति पनि नभएको कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म लिइएको ‘रिपोर्टिङ’ अनुसार जिल्लाका कुनै पनि स्थान बाढी तथा डुबानबाट प्रभावित भएको छैन ।

विपत्जन्य घटनाबाट कोही कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर जिल्ला प्रशासन कार्यालय अन्र्तगतका विपत् व्यवस्थापन तथा न्यूनिकरण टोली, सशस्त्र प्रहरीको क्यूआरटी टोली, नेपाल प्रहरी र नेपाली सेना ‘हाइ अलर्ट’मा रहेको प्रमुख जिल्ला अधिकारी भुषाल बताउँछन् ।

उनले भने, ‘जिल्लामा थोरै वर्षा हुँदा पनि सडक तथा नाला भरिभराउ हुने समस्या छ, तर अहिलेसम्म कहिँ कतैबाट बाढी, डुबान तथा मानवीय क्षती भएको जानकारी आएको छैन । हामी लगायत सशस्त्र प्रहरीको क्यूआरटी टोली गरी हजारौँ प्रहरीहरु घटना घटेको खण्डमा त्यहाँ पुग्न ‘रेडी’ बस्नुभएको छ ।’

‘हालसम्म विपत्का घटनाबारे कुनै जानकारी नआएपनि खोला नाला तथा नदीमा पानीको सतह बढ्ने क्रममा रहेको छ, उनले भने, ‘निरन्तर झरी परेको छ । यसरी पानी परेरहे बस्ती डुबानमा पर्दैन भन्न सकिदैँन ।’

घर बाहिर ननिस्किन प्रशासनको आग्रह

बिहीबारदेखिको अविरल वर्षाले बाढी तथा डुुबानको समस्या आउने भएकोले सतर्क रहन प्रशासनले आग्रह गरेको छ । यद्यपी पर्सा होचो भागमा अवस्थित रहेकोले यहाँ पहिरो जाने डर अत्यधिक नभएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भुषालले वर्षामा घर बाहिर नस्निकन, निस्किन परे ख्याल गर्न, बालबालिकालाई पानी जमेको ठाँउ वरपर जान नदिन आग्रह गरेका छन् ।

उनले विपत्का कारण विभिन्ज जोखिमहरु आउन सक्ने भन्दै यो समयमा एकजुट भइ सामना गर्न अपील गरेका छन् । आफ्नो वरपर कुनै घटना भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रशासनको अनुरोध छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै