ट्रेन्डिङ

वीरगन्जमा ‘आपन भाषा आपन पहिचान’ अभियान : विद्यार्थीमा भोजपुरी संस्कृतिको उत्साह

वीरगन्ज । वीरगन्ज महानगरपालिका अन्तर्गतको भोजपुरी प्रतिष्ठानले ‘आपन भाषा, आपन पहिचान’ अभियानलाई तीव्रता दिएको छ ।

यसै क्रममा वीरगन्ज चिनीमिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा दोस्रो साप्ताहिक कार्यक्रम सम्पन्न भएको छ, जसले विद्यार्थीहरूमा मातृभाषा भोजपुरीप्रति उत्साह जगाएको छ ।

प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रमोद पाण्डे, अस्मिता पटेल, शिक्षक सन्नी दुवे र शिक्षिका सीता अधिकारीको उपस्थिति थियो । प्रमुख अतिथि प्रमोद पाण्डेले भोजपुरी भाषाको संरक्षण, प्रवर्द्धन र प्रयोगमा सबैले जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा अमोद गुप्ता र अस्मिता पटेलले भाषा र साहित्यबारे मन्तव्य राखे भने आफ्ना रचनाहरू पनि प्रस्तुत गरे । अघिल्लो कार्यक्रमबाट प्रेरित विद्यार्थीहरूले यसपटक खुलेरै मातृभाषामा गीत गाए ।

श्याम सर्राफले भोजपुरी गीतहरूको सांस्कृतिक महत्व र समाजमा लोकगीतले खेल्ने भूमिकाबारे चर्चा गर्दै विभिन्न अवसरमा गाइने गीतहरू प्रस्तुत गरे । भोजपुरी प्रतिष्ठानले महानगर प्रमुख राजेशमान सिंहको परिकल्पनाअनुसार बालबालिकाहरूमा आफ्नो भाषा, साहित्य, कला, संस्कार र संस्कृतिप्रति रुचि जगाउने उद्देश्यले विभिन्न विद्यालयमा यो अभियान चलाइरहेको छ ।

भाषा केवल सञ्चारको माध्यम नभई सांस्कृतिक पहिचानको आधार भएको भन्दै मातृभाषामार्फत सिर्जना र अभिव्यक्तिको निरन्तरता सहज हुने प्रतिष्ठानले जनाएको छ । यस अभियानले बालबालिकामा मौलिक संस्कार र सांस्कृतिक सम्पदाप्रति थप आकर्षण बढाएको देखिएको छ । कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै