ट्रेन्डिङ

मुख्यमन्त्री सिंहद्वारा गणतन्त्र दिवसको शुभकामना, जनताको अधिकार र आत्मसम्मानका लागि निरन्तर प्रतिबद्ध

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले १७ औँ गणतन्त्र दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज जारी गरिएको एक शुभकामना सन्देशमा मुख्यमन्त्री सिंहले गणतन्त्रलाई नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रूपमा स्मरण गर्दै यसलाई नेपालको शासन प्रणालीका रूपमा स्थापित गरेको सत्र वर्ष पूरा भएको बताएका छन्।

मुख्यमन्त्री सिंहले गणतन्त्र स्थापनापछि हामीले उपलव्धिको संरक्षण, जनताले अनुभव गर्न सक्ने समानता, समावेशिता र सामाजिक न्यायको बाटोमा अग्रसर भएको उल्लेख गरेका छन्। यद्यपि यस प्रक्रियालाई थप वेगवान बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजको सामूहिक तत्परता, क्रियाशीलता र कार्य आवश्यक रहेको उनले औँल्याएका छन्।

शुभकामना सन्देशमा मुख्यमन्त्री सिंहले गणतन्त्र केवल शासनपद्धति नभई नागरिकको अधिकार, आत्मसम्मान र सशक्त उपस्थितिको सुनिश्चितताको व्यवस्था रहेको बताएका छन्। उनले आजको दिनले हामीलाई आत्मसमीक्षा गर्ने अवसर दिएको भन्दै संविधानले परिकल्पना गरेको समावेशी, समान र समृद्ध नेपाल निर्माणको लागि राज्यसंयन्त्र, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा जिम्मेवारीमा जोड दिएका छन्।

गणतन्त्रको मूल मर्मलाई जीवन्त राख्न लोकतान्त्रिक आचरण, जवाफदेहिता र सुशासन अनिवार्य रहेको उनको भनाइ छ।

मुख्यमन्त्री सिंहले गणतन्त्रको संस्थागत सुदृढीकरण र नागरिक अधिकारको प्रत्याभूतिको लागि प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए। उनले मधेश प्रदेश सरकार यसमा क्रियाशील हुने र मधेशका जनताले गणतन्त्रको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणतन्त्र दिवसको सुखद् अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै