ट्रेन्डिङ

गणतन्त्र दिवसमा काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन: उत्सव र आन्दोलनबीच सुरक्षा चुनौती

२५ हजार मानिस उपत्यका भित्रिएको राजावादीको दाबी

वीरगन्ज । भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै गर्दा राजधानी काठमाडौंमा एकै दिन दुई फरक राजनीतिक धारको शक्ति प्रदर्शनले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। एकतिर राज्यले गणतन्त्र उत्सव र बजेट भाषणको तयारी गरिरहेको छ भने अर्कातिर राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी समूहले विशाल जनआन्दोलनको घोषणा गरेको छ, जसका लागि २५ हजारभन्दा बढी मानिस उपत्यका भित्रिएको दाबी गरिएको छ।
राजसंस्था पुनस्र्थापनाका लागि बनेको ‘संयुक्त जनआन्दोलन समिति’ को संयोजन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा भोलिदेखि ‘संयुक्त जनआन्दोलन’ सुरु हुँदैछ। राजसंस्था समर्थक सबै दल र घटकहरूको यस आन्दोलनमा सहभागिता रहने जनाइएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उपत्यका बाहिरबाट जनता काठमाडौं आउने क्रम जारी रहेको र अहिलेसम्म २५ हजारभन्दा बढी जनता आइसकेको अनुमान रहेको बताए। उनले भोलिसम्म अझै धेरै थपिने दाबी गरे। राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पूरा नभएसम्म सडक खाली नगर्ने राजावादी नेताहरूले बताएका छन्।

आन्दोलन शान्तिपूर्ण हुने र मुठभेडको अवस्था आउन नदिन पर्याप्त सतर्कता अपनाइने श्रेष्ठको भनाइ छ। आन्दोलनमा घुसपैठ रोक्न तथा नेता र जनतालाई सुरक्षित राख्नका लागि १ हजार जना स्वयम्सेवकलाई आवश्यक तालिम र प्रशिक्षण दिइएको छ। आज काठमाडौंको एक बैंक्वेटमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले स्वयम्सेवकहरूलाई शान्तिपूर्ण र मर्यादित आन्दोलनका लागि निर्देशन दिएका छन्। आन्दोलन रत्नपार्क केन्द्रित गरिने र प्रशासनसँग अनुमति नमागिने राजावादीहरूको तयारी छ।

टुँडिखेल र संसद भवनमा उच्च निगरानी
गणतन्त्र दिवसको औपचारिक कार्यक्रम र राजसंस्था पुनर्स्थापनाको आन्दोलन एकै दिन परेकाले सुरक्षा चुनौती बढेको छ। नेपाल प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, गणतन्त्र दिवस समारोह हुने टुँडिखेलस्थित सैनिक मञ्च र बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। यी दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरेको छ।

प्रवक्ता थापाले कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने र त्यसका निम्ति सम्पूर्ण स्रोत र साधनसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए। जिल्ला सुरक्षा समितिले एमालेको गणतन्त्र उत्सवका लागि भृकुटीमण्डप क्षेत्रमा अनुमति दिए पनि राप्रपाको प्रदर्शनका लागि भने हालसम्म स्थान अनुमति दिएको छैन। प्रदर्शनस्थल टुंगो लागेपछि प्रहरी परिचालनका थप योजना बन्नेछन्।

भोलिको दिनमा गणतन्त्रको उत्सव र राजसंस्थाको मागबीचको टकरावलाई सुरक्षा संयन्त्रले कसरी व्यवस्थापन गर्छ भन्ने चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै