ट्रेन्डिङ

बारामा हृदयविदारक दुर्घटना : एकै परिवारका तीन सदस्यको मृत्यु, बाँचेका धर्मराजको उपचारमा सहयोगको याचना

कलैया । बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी रामानन्द महतोको परिवारमाथि गएराति (जेठ १३ गते) बज्रपात भएको छ।

रक्सौलबाट ५ महिनाको छोराको उपचार गराएर फर्कंदै गर्दा छौडादानोको बखरी नजिकै भएको भयानक सवारी दुर्घटनामा धर्मराज महतोकी श्रीमती, आमा र ५ महिनाका नाबालक छोराको घटनास्थलमै दुःखद निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धर्मराजको अहिले भारत मोतिहारीको अस्पतालमा उपचार भइरहेको छ । उनी अहिले शैय्यामा जीवन र मृत्युसँग लडिरहेका छन्।

अत्यन्तै गरिब परिवारका धर्मराजलाई आफ्नो उपचार र परिवारका अन्य खर्चका लागि आर्थिक अभाव भएको छ। यो विषम परिस्थितिमा पचरौता नगरपालिकाका नगर प्रमुख जालनधर सिंहले मानवीयता देखाउँदै १ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन् । मेयर सिंहको यस अमूल्य सहयोगप्रति परिवार र स्थानीयवासीले आभार व्यक्त गरेका छन्।

सहृदयी दाताहरूलाई सहयोगको अपिल
धर्मराज साहको उपचार खर्च र परिवारमाथि आइपरेको यो महाविपत्तिमा सहयोगका लागि सहृदयी दाताहरूलाई अपिल गरिएको छ। एकैपटक तीन सदस्य गुमाएर गम्भीर अवस्थामा रहेका धर्मराजलाई थप उपचारका लागि तत्काल आर्थिक सहयोगको आवश्यकता परेको छ।

यस दुःखद घडीमा धर्मराजको जीवन बचाउन र शोकमा डुबेको परिवारलाई राहत प्रदान गर्न सबैबाट सक्दो सहयोगको अपेक्षा गरिएको छ। मानवीयताको नाताले यस परिवारलाई सहयोग गर्न चाहने जो कोहीले पनि पचरौता नगरपालिकाको समन्वयमा वा सिधै परिवारसँग सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै