ट्रेन्डिङ

हाल चर्चामा रहेका कुनै पनि पात्रमा ‘राजामा हुनुपर्ने गुण र गरिमा छैन’ : विश्व हिन्दु महासंघ

आन्दोलनमा सहभागी हुनेलाई चेतावनी

वीरगन्ज। नेपालमा राजसंस्था पुनर्स्थापनाको बहस र जेठ १५ गतेको प्रदर्शनको तयारी चलिरहँदा विश्व हिन्दु महासंघ नेपालले एक महत्वपूर्ण टिप्पणी गरेको छ।

महासंघले हाल चर्चामा रहेका कुनै पनि पात्रमा ‘राजामा हुनुपर्ने गुण र गरिमा’ नभएको स्पष्ट पारेको छ। यो भनाइले राजसंस्थाको भविष्य र उत्तराधिकारसम्बन्धी छलफललाई नयाँ मोडमा पुर्याएको छ।

महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै जनचाहना भएमा ‘राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने’ धारणा व्यक्त गरेका छन्। तर, उनले हाल चर्चामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका नाति हृदयेन्द्र शाह कसैमा पनि ती गुण र गरिमा नभएको उल्लेख गरेका छन्।

यो भनाइ विशेषगरी राप्रपा र राप्रपा नेपालसहितका राजावादी दलहरूले जेठ १५ गते काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा आएको हो।

यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवराज हृदयेन्द्र शाहलाई भावी राजा बनाउन सकिने भनी दिएको अभिव्यक्तिले पुरानो ‘बेबी किङ’ को बहसलाई पुनः सतहमा ल्याएको छ। थापाले भनेका छन्, ‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ। राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं। उहाँ २०/२१ वर्षको हुनुभयो।’ उनको यो भनाइले राजसंस्थाको उत्तराधिकारबारे विभिन्न कोणबाट बहस सुरु भएको छ।

राजा राजनीतिक, धर्म आस्थाको विषय’
महासंघले राजावादीहरूको आन्दोलनको एजेन्डामाथि पनि भिन्न धारणा राखेको छ। डा. अधिकारीले ‘हामीले राजालाई धर्मसँग जोड्दैनौं, राजा राजनीतिक विषय हो, समय क्रममा स्थापित/विस्थापित हुनसक्छ तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय हो। यो निरन्तर चलिरहन्छ’ भन्दै राजा र धर्म फरक विषय भएको स्पष्ट पारेका छन्।

महासंघले आफूहरू घोर दक्षिणपन्थी वा उग्रवामपन्थी कुनै पनि धारमा नझुक्ने उल्लेख गर्दै ‘मध्यमार्गी लोकतान्त्रिक मूलधार नै हाम्रो मूलबाटो हो’ भनेको छ। उनीहरूको लक्ष्य ‘धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र’ रहेको विज्ञप्तिमा जनाइएको छ।

आन्दोलनमा सहभागी हुनेलाई चेतावनी
विश्व हिन्दु महासंघले राजावादीहरूको जेठ १५ को प्रदर्शनमा स्वेच्छाले सहभागी हुनेहरूलाई कुनै रोक नलगाउने बताएको छ। यद्यपि, ‘आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्नेछ’ भन्दै सम्भावित परिणामप्रति सचेत गराएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले यसअघि नै जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गरेरै छाड्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै