ट्रेन्डिङ

देशभर आंशिक बदली, कुनकुन प्रदेशमा छ चट्याङसहित वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण देशका पहाडी तथा केही तराई भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

महाशाखाका अनुसार, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अन्य भूभागहरूमा मौसम मुख्यतया सफा वा आंशिक बदलीको अवस्था देखिएको छ ।

मनसुन हाल अरब सागरको मध्य भाग, महाराष्ट्र, मुम्बई, कर्नाटक, बाङ्गलोरु, तमिलनाडुको बाँकी क्षेत्र, तेलाङ्गना, आन्द्र प्रदेश, र बङ्गालको खाडीका केही भाग हुँदै भारतका पूर्वोत्तर राज्यहरू—त्रिपुरा, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, असम, र मेघालय—सम्म फैलिएको छ।

पश्चिम बङ्गाल, सिक्किम र बाँकी पूर्वोत्तर भूभागतर्फ मनसुन विस्तारको क्रममा रहेको छ।

दिउँसो र रातिको मौसम पूर्वानुमान

आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान गरिएको छ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। हिमाली भूभागमा हिमपातको जोखिम यथावत रहनेछ।

सावधानी अपनाउन अनुरोध

मौसमको यस्तो अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै