वीरगन्ज । मनसुन नजिकिएसॅंगै वीरगन्ज महानगरपालिकाले यहाँका नालाको सफाइमा अघि बढेको छ ।
महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाबाट हुनसक्ने बाढीजन्य जोखिम न्यूनीकरणका लागि अतिक्रमण हटाउने र वर्षौंदेखि अबरुद्ध रहेका नालाहरूको सफाइ कार्यलाइ तीव्र पारेको हो ।
सोही क्रममा प्रमुख राजेशमान सिंहको नेतृत्वमा मंगलबार वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ। टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्थाबारे अध्ययन गरेको थियो।

निरीक्षणका क्रममा नाला अतिक्रमणमा परेको, लामो समयदेखि सफाइ नहुँदा पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइएको बताइन्छ ।
स्थानीयबासीले अनुगमनका क्रममा घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्याबारे गुनासो गरेका थिए। प्रतिक्रिया स्वरूप महानगर प्रमुख सिंहले तत्काल नाला सफाइ र अतिक्रमण हटाउन निर्देशन दिए ।
“स्थानीयको समस्या समाधानका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ,” प्रमुख सिंहले भने, “दीर्घकालीन रुपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ।”
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति थियो ।
महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समाधान र पूर्वाधार सुधारमा जोड दिने बतायो ।