ट्रेन्डिङ

फेटा गाउँपालिका अध्यक्षलाई एकीकृत समाजवादीले बुझायो १० बुँदे मागपत्र

बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित फेटा गाउँपालिकामा आफ्नो राष्ट्रव्यापी अभियानको सुरुवात गरेको छ।

पार्टीको फेटा गाउँपालिका कमिटीका अध्यक्ष इब्राहिम अहमद ठकुराईको नेतृत्वमा गएको टोलीले आज पालिका अध्यक्ष रुस्तम अंसारीलाई १० बुँदे मागपत्र पेस गर्दै भ्रष्टाचारमुक्त, पारदर्शी र सेवामुखी न्यायिक तथा प्रशासनिक व्यवस्थापनलाई स्थानीय सरकारको केन्द्रमा राख्न जोडदार माग गरेको छ।

पार्टीले पछिल्लो १०–१२ वर्षमा देशले भोगेका गरिबी, पछौटेपन, विभेद र अविकासको मुख्य कारण भ्रष्टाचारमुक्त र पारदर्शी व्यवस्थापनलाई राजनीतिको केन्द्रमा नराख्नु रहेको औंल्याएको छ। ‘हामी चुक्यौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अब अपमानपूर्ण इतिहास बदल्न, राजनीतिक नालायकीबाट शिक्षा लिन र बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन ढिलो भइसकेको छ।’

एकीकृत समाजवादीले चैत १ गतेदेखि सुरु गरेको यो आन्दोलन सत्ताको खेल नभई १० वर्षमा सबै नेपालीलाई रोजगारी दिन सक्ने सुशासनयुक्त मुलुक बनाउने राष्ट्रिय एजेण्डा भएको बताएको छ।

उसले बीउ, सिँचाइ, मल, बिजुलीमा पर्याप्त अनुदान र सस्तो कृषि ऋणको व्यवस्था, सबै आर्थिक तथा वित्तीय नीतिहरूलाई स्थानीय उत्पादन तथा कृषिमा आधारित साना उद्योगमैत्री बनाउने, सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गरी न्यूनतम कर र सहज प्रशासनिक प्रक्रिया मार्फत स्थानीय उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा सुधार र विकासको माग गरेको छ ।

चैरामाई लगायत पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र सौन्दर्यीकरण गर्ने, सडक यातायात र अन्य पूर्वाधार विकास गरी पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने, फेटा गाउँपालिका कमिटीले पालिका अध्यक्षलाई यस ऐतिहासिक अवसरको सदुपयोग गरी यी मागहरू पूरा गर्न जोडदार आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै