ट्रेन्डिङ

६ जना पर्यटकलाई स्वागत गर्दै बीरगन्जमा मनाइयो पर्यटन दिवस

बीरगन्ज । होटल तथा पर्यटन व्यवसायी संघ बीरगन्जको आयोजनामा ४५ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । उनीहरुले धार्मिक पर्यटनलाई महत्व दिएर दिवस मनाएका हुन् ।

नेपाल भारत प्रवेशद्वार शंकारचार्य गेट अगाडी औपचारिक कार्यक्रमको आयोजना गरि बाहिरबाट आएका ६ जना पाहुनालाई स्वागत गर्दै दिवस मनाइएको हो ।

बीरगन्ज नाका हुँदै पशुपतिनाथ, जनकपुर, गढिमाई र मुक्तिनाथ लगायतका धार्मिक पर्यटनमा जान नेपाल आएका ६ जना पाहुनालाई स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघ बीरगन्जका अध्यक्ष हरि पन्तले बताए ।
उनका अनुसार उनीहरुलाई फूलमाला तथा टीका लगाइ दही एवम् जुस खुवाएर स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचुर भएको बताए । तर ओझेलमा पारिदाँ यस क्षेत्रको बिकास हुन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा पर्यटनको प्रचुर सम्भावना छ, तर सरकारले हरेक पटक यस क्षेत्रलाई बेवास्ता गर्ने गरेको छ । तसर्थ राज्यको ध्यान तान्नकै लागि दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्व दिदैँ यो कार्यक्रमको आयोजना गरेका हौँ ।’

होटल व्यवसायको प्रमुख आधार भारतीय पर्यटक भएको उल्लेख गर्दै, होटल तथा पर्यटन व्यवसायको वृद्धिका लागि पर्यटकको आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा वक्ताहरुले जोड दिए । यस्तै उनीहरुले पर्यटन क्षेत्रको प्रवर्द्धन तथा बिकासमा सामाजिक, सांस्कृतिक एवम् आर्थिक पक्षहरुको महत्वबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल लगायत होटल व्यवसायी, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै