सिरहा । जिल्लाको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले सिरहा र धनुषा जोड्ने कमला नदीमा स्थायी पुल निर्माणको माग गर्दै मधेश प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा यसलाई समेट्न अल्टिमेटम दिएका छन्।
माग पूरा नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनशन बस्ने उनको चेतावनी छ। आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै वडाध्यक्ष यादवले पुलको आवश्यकतामाथि जोड दिए। उनले भने, ‘कमला नदीले हरेक वर्ष यहाँका बासिन्दालाई ठूलो सास्ती दिँदै आएको छ। यदि प्रदेश सरकारले यसलाई गम्भीरतापूर्वक लिएन भने म अनशन बस्न बाध्य हुनेछु ।’
स्थानीय बासिन्दाका अनुसार स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती क्षेत्रका हजारौं मानिसलाई दैनिक आवागमनमा असहज भएको छ। विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत पूरै ठप्प हुने गर्छ।
वडाध्यक्ष यादवले यसअघि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले संघीय सरकारले कमला पुलको विषयलाई बेवास्ता गरिरहेको आरोपसमेत लगाए। ‘हामीलाई अब आश्वासन होइन, ठोस काम चाहिएको हो,ू उनले भने, ूसंघीय सरकारबाट अपेक्षा गर्न सक्ने अवस्था छैन। त्यसैले हामीले अब मधेश प्रदेश सरकारलाई नै बजेट छुट्याएर पुल निर्माण अघि बढाउन माग गरेका छौं।’